राजनीतिको राजनीति

0 0
Read Time:15 Minute, 40 Second

हुन त विदेश बस्नेलाई देशको कुरा कसरी थाहा हुन्छ भनेर कड्किने जमात ठूलै होला‌ , तर भित्र बसेर देखिने र बाहिरबाट देखिने कुरो भिन्दै हुँदो रहेछ – ऐनामा आफ्नो नयाँ टि-शर्ट हेरेर जति मख्ख परे पनि पछाडि झुण्डिएको ट्याग देखाइदिन त बाहिरको/अर्को मान्छे नै चाहिन्छ ।
एकातिर विदेश बस्नेले नेपालको बारे बोलेर खोक्रो राष्ट्रवाद देखायो भन्नेहरु छन् भने अर्कोतिर विदेश बस्नेलाई सबै‌ थाहा हुन्छ भन्ने भ्रम बोक्नेहरु पनि छन् ।‌
मैले माथि भनेजस्तै ट्याग देखाउन टि-शर्ट भित्र हैन बाहिर हेर्नुपर्छ । जहाँसम्म खोक्रो राष्ट्रवादको कुरा छ – ट्याग देखाउने मान्छेलाई धन्यवाद भन्ने कि “आँखा छ भनेर नाक लगाको” भन्ने- यो हाम्रो सोचाइमा भरपर्छ ।
सोच सकारात्मक छ भने संसार नै सकारात्मक हुन्छ र सोच नकारात्मक छ भने सबैकुरा नकारात्मक नै देखिन्छ ।
अर्को पक्षको कुरा गर्नुपर्दा विदेश बस्ने भन्दैमा सवै कुराको ज्ञान हुन्छ नै भन्ने पनि छैन । कुन कुरामा कसको कति दखल छ भन्ने कुरा त्यो व्यक्तिको रुचि,हेलमेल, मानसिकता र आत्मविश्वासमा भरपर्छ ‌।
अन्त त थाहा भएन तर मैले भेटेका नेपालीहरुमध्ये अधिकांश सकेसम्म आफ्नै समूदायभित्रै सीमित रहने र आफ्नो समूदाय नभएको ठाउँमा बसेको छ भने अरु दक्षिण एसियाली मूलका मान्छेहरूसंग मात्र उठबस र घुलमिल‌ गर्ने गरेको पाएको छु ।‌ यसरी आफ्नो समूदाय भित्रै सीमित रहने, रैथाने स्थानीय बासिन्दालाई उल्टै “विदेशी” भनेर टाढै बस्ने र उनिहरुलाई रंगभेदी विशेषण दिने क्रियाकलापले उनिहरुलाई नै पछि पारिरहेको छ ।
मैले भेटेका कतिपय नेपालीहरुलाई पश्चिमेली दैनिकीको बारेमा सामान्य ज्ञान समेत नभएको मैले आफैं अनुभव गरेको छु , तर यो बारेमा पछि लेखौंला ।
यहाँ मैले उठाउन खोजेको विषय हो राजनीति, तर कुनै दलको समर्थन या विरोध गर्ने राजनीति नभई शुद्ध राजनीति । किनभने मैले एकाध बाहेक अधिकांश नेपाली, जो आफूलाई राजनीतिक कार्यकर्ता भन्न रुचाउँछन् – संग राजनीतिको सामान्य सिद्धान्तको समेत ज्ञान नभएको पाएको छु ।
मनोवैज्ञानिक रुपमा भन्नुपर्दा हामी थाहै नपाई आफ्नै विश्वासको दास भईरहेका छौं । भन्नुको मतलव हामी जे सुन्न चाहन्छौं त्यही मात्रै सुन्छौं र बुझ्छौ र यो बुझाईमा समेत हामी आफ्नो अनुभव घुसार्छौं । एउटा उदाहरण
एउटा दलको समर्थकले आफ्नो दलको जुनसुकै कदमलाई पनि ठीक ठान्छ र अर्को दलको जुनसुकै कदम पनि गलत ।
जस्तो आफ्नो दलले खानेपानी बांड्छ – वाह, कस्तो राम्रो काम
अर्को दलले खानेपानी बांड्छ – प्लास्टिकको बोतलले वातावरण विगार्‍यो !!
यहाँनेर एउटा प्रसंग जोड्न मन लाग्यो ।
बुध्दधर्मको त्जेन हाँगाले भन्छ
सत्य तीनवटा हुन्छन् । तिम्रो सत्य , मेरो सत्य र वास्तविक सत्य । यसको पनि एउटा उदाहरण
क र ख को झगडा पर्छ ।
क र ख ले आ-आफ्नै “सत्य” बताउँछन्, तर वास्तविकता भने उनीहरुले भनेको भन्दा फरक हुन्छ, कारण आफ्नो गल्ती कसैले पनि सजिलै स्विकार गर्दैन ।‌
यी प्रसंगले हाम्रो‌ राजनीतिक मानसिकता प्रस्ट्याउँछ ।
कसरी ?
पढ्दै जानुस् थाहा पाउनुहुनेछ ।

राजनीतिक अर्धज्ञान
कहिलेकाहीं मलाई हामी हलिवुड चलचित्रको मिनियन जस्तै लाग्छ । मिनियनका जमात सवैभन्दा धूर्त मालिकको खोजीमा रहेजस्तै हामी मध्य केही कहिले पत्रकारलाई त कहिले कलाकारलाई नेता बन्न उत्प्रेरित गरिरहेका छौं भने केही “केही गर्न नसक्ने” भनेर सत्ताबाहिरका दलहरुको सत्तोसराप गरिरहेका छौं ।‌
पंचायतको अवसानपछि बनेका सबै सरकार जनमुखी भन्दा धनमुखी काममै व्यस्त भयो र जनतालाई आश्वासन बाहेक केही दिन सकेन ।  वाक् र राजनीतिक स्वतन्त्रताले पत्रपत्रिका र श्रव्यदृश्य संचारले फड्को त मार्‍यो तर संख्यामा मात्र । सत्य समाचार दिने र जनतालाई सुसुचित गर्ने पत्रिका भन्दा भन्दा अमूक दलको अघोषित मुखपत्रको संख्या धेरै छ ।
हेर्दा सामान्य लागेपनि संचार माध्यमको यो अदुरदर्शिताले जनमानसमा कुनै न कुनै दलको समर्थन गर्नैपर्ने रहेछ भन्ने भ्रमलाई गहिरोसंग रोपण गरेको छ । फलत: केही अपवाद छाडेर समाजको सबै अंग- चिकित्साकर्मी देखि कलाकर्मी सम्म  अर्धसूचित राजनीतिक चंगुलमा फसेका छन्  ।‌ राजनीतिक दल निकटका संघ संस्थाहरु च्याउसरी फैलिएका छन् । हरेक सत्तासिन दलले यसलाई प्रोत्साहन मात्र गरेका छैनन्, अनैतिक सुविधा दिएर राजनीति नबुझेका हरुलाई समेत कुनै न कुनै दलको झण्डा बोक्नै पर्ने रहेछ भन्ने “दिव्य ज्ञान” समेत बाँडेका छन् ।
यसरी देशलाई नै राजनीतिक चंगुलमा राखेर दलहरुले राजनीतिको परिभाषा नै बदलेका छन् । फलतः सर्वसाधारणको लागि राजनीति स्वेच्छा नभई बाध्यता हुनपुगेको छ । विगतको निर्वाचन र धर्म परिवर्तनको आँकडा हेर्दा जनतालाई आफ्नो परिवारले समर्थन गर्ने दलको विरुद्ध भोट हाल्नु भन्दा धर्म परिवर्तन गर्न सजिलो लागेको देखिन्छ ।
जव दलहरु माथिको प्रतिवन्ध फुकुवा भयो, जनता रहरले हो कि बाध्यताले हो, कुनै न कुनै दलको समर्थक बने।‌ समाजमा बरु धर्म परिवर्तन गर्छु, आफ्नो दललाई धोका दिन सक्दिनँ भन्नेहरुको बाहुल्य भयो, दल परिवर्तन अघोषित रुपमा बर्जित नै भयो र पृथक दलको समर्थन गर्ने अल्पसंख्यक हरु सामाजिक वहिष्कारमा मात्रै परेनन्, दलका समर्थकबीच पानी बाराबार समेत भयो । पत्रपत्रिकाको पुरानो अभिलेख हेर्ने हो भने यस्ता घटनाहरू बग्रेल्ती भेटिन्छन् ।
हुन‌ त पछि बिस्तारै यो चलन कम भयो तर दल परिवर्तनको‌ मूल कारण दलहरुको अक्रमण्यता भन्दापनि व्यक्तिगत स्वार्थ रहन गयो ।‌देशको बारेमा कसैलाई पनि सोच्ने फूर्सद र जाँगर भएन । 
अहिलै ४५ नाघेकाहरु यही संस्कारमा हुर्किए र आफ्नो सन्तान – अहिलेको युवा पिँढी लाई आफ्नो “राजनीतिक ज्ञान” हस्तान्तरण गरे । फलतः एउटा अर्को राजनीतिक अर्धज्ञानीको पिढी‌ जन्मियो ।
राजनीति राजनीति बनेन । कसैलाई यो रातारात धनी बन्ने साधन बन्यो भने कसैलाई जगिर पाउने माध्यम ।
कसैले पदोन्नतिको लागि त कसैले कालोबजारीको लागि राजनीतिलाई अँगाल्दै गए। राजनीतिको परिभाषा नै बदलियो
तर के राजनीति भनेको यही हो त ?
ग्रिक भाषाबाट प्रादुर्भाव भएको politika बाट अँग्रेजी Politics को जन्म भएको मानिन्छ ।‌
यसको शाव्दिक परिभाषा यस्तो छ
देश, राज्य वा क्षेत्रको शासनसंग सम्वन्धित गतिविधिहरुको संगालो ।‌
अनि विकिपीडिया भने यसो भन्छ
विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी (अग्रगामी ?) परिबर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठूला समुहहरू, जस्तै देशहरू,मा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ। त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ।
बिडम्बना,हामीकहाँ राजनीतिको परिभाषा बुझ्नेको ठूलो कमी छ । कसैले आफ्नो समर्थन पाएको दलको आलोचना गरोस – हामी त्यसलाई राजनीति गरेको भन्छौं । कुनै घटनाको छानविनको माग कुनै व्यक्ति वा पार्टीले उठायो भनेपनि त्यो राजनीति हुन्छ ।‌‌ यतिमात्र होइन ‌कुनैपनि दाउपेच लाई हामी ढुक्कसँग राजनीति गरेको भन्दिन्छौं ।
यहाँ राजनीतिलाई ‌नकारात्मक रुपमा चित्रण गर्न खोजिएको हैन तर सत्य के हो भने ‌देशभक्तहरुको एउटा ठूलो जमात यो बर्गमा जानि‌नजानी परेका छन् ।
प्रजातान्त्रिक होस् वा निरंकुश, विश्वका लगभग सवै देशमा लिखित संविधान (५ देश बाहेक) हुन्छ र यसले देशका विभिन्न अंगहरुको काम, कर्तव्य र अधिकारलाई परिभाषित गरेको हुन्छ । आफ्नो कार्यक्षेत्र बाहिर कसैले पनि जान मिल्दैन ।
हाम्रो देशको संविधानले पनि यी कुराहरू उल्लेख गरेको छ । तर विडम्बना,संयन्त्रमा रहने पदाधिकारी स्वयं नै यो नियमको अक्षरस पालना गर्दैनन् ।
उदाहरणका लागि‌

नेपालको प्रहरी प्रहरी भनेको कानुनको पहरेदार हो र प्रहरीको काम कानुन उल्लंघन गर्नेलाई प्रमाण सहित अदालतमा पेश गर्नु हो‌।‌ अदालतको काम प्रमाणको आधारमा दोषी करार गरेर सँजाय तोक्ने
तर हामीकहाँ प्रहरीले गर्ने काम : शारिरिक यातना, सानोतिनो फैसला, मिलापत्र, अदालत पुग्नु‌अगावै दोषी करार,जरिवाना, लाठीचार्ज आदि ।‌
अर्को उदाहरण
जनताको दायित्व: सत्तामा रहेका दलहरुको निष्पक्ष मूल्यांकन गरेर सही दललाई सत्तामा पुर्‍याउनु ।
जनताले गर्ने : क्षणिक लाभको लोभमा आश्वासन ‌दिने तर काम नगर्ने ” लाई नै सत्तामा पुर्‍याईरहन्छन ।
कति राम्रो व्यवस्था छ, जसले राम्रो काम गर्छ त्यही सत्तामा पुग्छ । तर जनताको राजनीतिक अल्पज्ञानले यसो हुन दिइरहेको छैन ।
मैले यहाँनेर उल्लेख गर्नैपर्ने कुरा के भने, सवै जनता माथि भनेजस्ता छैनन्, तर विगत तीस बर्षको चुनावी परिणाम हेर्दा अधिकांश जनता राजनीतिक निरक्षर भएको प्रष्ट हुन्छ ।
जनताको यो अल्पज्ञानले फेरि फाइदा चाहिँ दलहरुलाई नै भएको छ ।
मेरो यो तर्कलाई अहिलेको अवस्थासंग दाँज्ने हो भने, अहिले पुर्व एमाले र पूर्व माओबादीको सरकार छ। एमाले पटक पटक सत्तामा गइसकेको छ भने माओवादीको हातमा १७ हजारको रगतको छिटा छ ‌। मैले यहाँ माओवादीले १७ हजार मारे भन्न ‌खोजेको हैन कि, ती १७ हजारको मृत्युको शुरुवात माओवादीको युद्ध बाटै भएको हो मात्र भन्न चाहेको हो । को दोषी को निर्दोषी – कुनै दिन इतिहासले मूल्यांकन गर्ने नै छ होला ।‌
यदि‌ जनताले विगत हेरेर भोट दिएका भए अहिले कुनैपनि “प्रमुख” दल सत्तामा पुग्ने थिएनन् ।‌ अनि अर्को कुरो, माओवादीले हतियार नउठाइकन चुनाव लडेको भए अहिले पनि यिनीहरू दुइचार सीटमै सीमित हुन्थे । किनभने जनता राजनीतिक रुपमा सचेत थिएनन् ‌र छैनन् पनि ।
तर सशस्त्र युद्ध चाहिँ जसले जे भनेपनि गलत थियो र‌यो एउटा कलंकको रुपमा इतिहासमा रहिरहनेछ ।
मैले यसो भन्दा संघियतबादी र गणतन्त्रबादीको टाउको दुख्छ होला । यो विषयमा छुट्टै बहस कुनैदिन गरौंला ।‌
महत्वपूर्ण कुरो के भने देश अघि बढ्न कुनै बाद बा तन्त्र चाहिँदैन ।
यदि राजतन्त्र खराब भएको भए बेलायत संसारकै गरीव देशमा पर्थ्यो होला , धार्मिक असहिष्णुता विकासको बाधक भएको भए , दुईवटा मान्छे हामीकहाँ काम खोज्दै आउँथे होलान् ।‌
राजनीतिक स्वतन्त्रता विना देशको आर्थिक विकास नहुने भए चीन अहिलेको अवस्थामा रहने थिएन‌ होला ।
देश बन्न दुइटा कुरा भए पुग्छ
१. आफ्नो व्यक्तिगत स्वार्थलाई टाढा राख्ने,कुनैपनि दलको अन्धोभक्ति नगर्ने र चुनावमा निष्पक्ष र राष्ट्रप्रति उत्तरदायी भएर भोट हाल्ने जनता
२. भिजन भएका नेता
यदि जनता सुसुचित र जिम्मेवार हुने हो भने न देशमा भ्रष्टाचार रहन्छ न कालोबजारी नै ।
तर जबसम्म जनता जनता नभएर अमुक दलको भक्त भइरहन्छन तबसम्म नेता मोटाइ रहन्छन, देश पछि हटिरहन्छ र जनता भने अर्को दल, बाद र तन्त्र लाई दोष दिइरहन्छन ।‌

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ