जातीय विभेद: घण्टी कसले झुण्ड्याउने

0 0
Read Time:24 Minute, 43 Second

देशको‌‌ छविमा‌ अहिले अर्को‌ एउटा दाग लागेको छ।‌ आङ‌नै सिरिङ्ग हुने यो  घटनाले संसारसामु हामीलाई फेरि एकपल्ट लज्जित तुल्याएको छ ।
सन्दर्भ – रुकुम घटना
हिमालखबरका प्रविर ददेलले आफ्नो रिपोर्टको शुरुमै यो घटनालाई जातीय दुरीको कारण भनेर किटेका छन‌ ।
प्रविर मात्र हैन, धेरे पत्रकार, रिपोर्टर‌ र सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत दलित हुनुकै कारण यो विभत्स घटना घटेको ठोकुवा गरेका छन्  ।
कतिपयले यो घटनालाई जातीय रंग नदिन आग्रह गरेपनि नेतादेखि विदेशी कुटनीतिज्ञले सम्म आ-आफ्नै वक्तव्यबाजी गरेर‌ जातीय विभेदलाई ‌नै यो घटनाको मूल कारक मानेका छन् ।

के भएको थियो त ?
संक्षिप्तमा भन्नुपर्दा ‌एक जोडी किशोर किशोरी प्रेममा पर्छन्,‌ किशोरी किशोरको घरमा आवतजावत गर्छिन, कहिलेकाहीँ दुईचार दिनै बस्ने गरी ।‌
हिमालखबरको रिपोर्ट अनुसार यसरी पटक पटक आएर बस्ने गरेपछि किशोरका घरपरिवारले किशोरीको जात थाहा पाउँछन र  “डराएर” किशोरीलाई घर‌‌मा नआउन आग्रह गर्छन ।‌
किशोरीको घरमा किशोरबारे‌ जानकारी भएको र घटनाको एक हप्ता अगाडी भागेर बिहे गर्ने सल्लाह भएको कुरा पनि रिपोर्टमा उल्लेख छ।‌
कान्तिपुर रिपोर्ट अनुसार,किशोरीले घटनाको दिन ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका छन्” भनेर किशोरलाई बोलाएकी थिइन् ।‌
तर भागेर बिहे गर्न दुलही लिन साथीहरु सहित  गएका किशोर जीवितै फर्कन सकेनन् ।
पोष्टमार्टम रिपोर्ट अनुसार सबै मृतकको टाउकोमा चोट लागेको थियो । यसवाट ती किशोर‌ र उनका साथीहरुको अत्यन्त निर्मम र जंगली तरिकाले हत्या‌ गरिएको पूर्वानुमान गर्न सकिन्छ।‌
घाइतेहरूका अनुसार किशोरीको घर पुग्नुभन्दा ‌पहिल्यै ‌ उनीहरुमथि गाउँलेहरुको जत्थाले “तल्लो जाती भएर ठकुरीकी छोरी लिन खोज्ने’ भन्दै चिर्पट र हँसियाले आक्रमण गरेका थिए। यसरी “पुरै गाउँ उर्लिएर” घरेलु हतियारसहित आक्रमण भएको सुन्दा कतै यो‌ घटना नियोजित त थिएन भन्ने प्रश्न पनि उठ्छ ।
ती किशोर र किशोरीबीच तीन वर्ष पहिले चिनजान भएको बुझिन्छ।‌ जात थाहा पाएपछि किशोरीको परिवारले किशोरको परिवारलाई धम्क्याएका थिए र परिणामस्वरूप किशोरी किशोरको घरमा आउने क्रम रोकिएको थियो ।  तर पछि किशोर किशोरीलाई भेट्न जाँदा ‌ किशोरीका आफन्तले किशोरलाई प्रहरीकहाँ बुझाएर उनको आमाबुवालाई समेत बोलाएर  सम्बन्ध अघि नबढाउने लिखित कागज गराइएको थियो ।
तर यी दुई प्रेमीको सम्बन्ध फोनमार्फत जारी रहेको देखिन्छ ।  अनि एकदिन साँझ किशोरीकै आग्रहमा दुलही लिन आएका किशोरसंगै यो प्रेमकथाको पनि अल्पायूमै देहान्त हुन्छ ।‌
आधुनिक समाजमा कलंक बनेको यो घटनाले एउटा जायज र महत्त्वपूर्ण प्रश्न ‌उठाएको छ ।
के यो घटना जातीय भिन्नताकै कारण भएको थियो त ?
जवाफका लागि यसलाई गहिरिएर हेर्नुपर्ने हुन्छ ।‌
पत्रपत्रिकामा छापिएका खोजखबर, घाइतेहरुसंगको अन्तर्वार्ता 
र घटनाको भोलिपल्ट सार्वजनिक भएको भनिएको किशोरीको  फोनवार्ता अनुसार किशोरी किशोरको घरमा धेरैपटक गएकी थिइन् । किशोरको जात थाहा पाएपछि मात्रै परिवारले विरोध गर्न थालेको देखिन्छ।  किशोरीको आफन्तले किशोरका पितालाई “ठकुरीको सम्धी बन्ने हो?” भनेर  छेड हानेको र  घाइतेले “तल्लो जाति भएर ठकुरीकी छोरी लिन खोज्ने’ भनेर आक्रमण गरेको जस्ता घटनाक्रमले जातीय असमानताले‌ नै यो घटना निम्त्याएको देखिन्छ।
यहाँनेर एउटा कुरा प्रष्ट पारौं होला ।
यो लेखको आशय गुमेको जीवनलाई जातियकरण र राजनीतिकरण गर्नु नभई समाजमा ब्याप्त अन्धविश्वासप्रति औंला ठड्याएर यसको समाधानको लागि सल्लाह उपलब्ध गराउनु हो ।‌
अब घटनातिर फर्कौं

किशोरीको फोनवार्ता
घटना घटेको भोलिपल्टै किशोरीको फोन अन्तर्वार्ता भनेर एउटा श्रव्य क्लिप सार्वजनिक भएको छ ।अडियो सुन्न यहाँ क्लिक गर्नुहोला, (नयाँ पेज खुल्छ) यो क्लिपमा किशोरीले धेरै विरोधाभाषपूर्ण कुरा गरेकी छिन् ।जस्तो:
“मलाई केटा आएको थाहा थिएन, म घरमा थिइन”
अनि एकछिन पछि ‌
“हल्ला सुनेर बाहिर निस्कें”
आश्चर्य के भने तिनको स्वरमा कुनै भाव थिएन ।
यो क्लिपको‌ विश्वसनियता आफ्नै ठाउँमा होला, तर क्लिपले मानव संवेदनामाथि नमीठो प्रहार भने गरेको छ ।‌ आफूले दुइचार मिनेट बोलेको मान्छे मर्‍यो भन्ने खवर सुन्दा त कति दुःख लाग्छ भने, भूतपूर्व नै सही – ती किशोरक़ो हत्याको खबरलाई त्यसरी पचाउनु पक्कै पनि सामान्य हैन ।‌
दोषी को त ?
छोटकरीमा भन्नुपर्दा – समाज।
र लम्ब्याएर भन्नुपर्दा
  – हाम्रा नेता
  – जातीय नारा (चाहे विरोध होस् चाहे समर्थन)
  – हाम्रो शिक्षा प्रणाली र हाम्रो सोच
कानुनी रुपमा जे भए पनि छुवाछुतले हाम्रो समाजमा गहिरो‌ जरो गाडेको छ र दुर्भाग्यवश, यो जरोलाई हामीले‌ नै मलजल गरिरहेका छौं ।
हाम्रो मनमा एउटा डर छ- समाजको । 
र यही डर नै छुवाछुतको लागि पौष्टिक आहार बन्न पुगेको छ ।
छूवाछूत मात्र हैन ,छाउपडी, दाईजो लगायतका विकृतिहरुले हामीलाई नछाड्नुको कारण यही “डर” हो ।
हामीलाई समाजको डर लाग्छ, तर हामी आफू पनि यही समाजको अंग हौं भन्ने कुरा चाहिँ ‌विर्सन्छौं ।
हाम्रो समाजमा व्याप्त केही डरहरु
  – समाजले जहिलेपनि हेरिरहेको हुन्छ ( आधुनिक भाषामा समाज भनेको सिसिटिभी हो )
  – बाबुबाजेको चित्त दुखाउनु हुँदैन
  – धर्मको उल्लंघन गर्नुहुन्न ।
सबभन्दा पहिले समाजको‌ कुरो ।
हामीमध्ये कति जनालेअर्काको गतिविधि हेरेर त्यसको क्रिया-प्रतिक्रिया दिएर बस्छौं‌ ? छिमेकीले अन्तरजातीय विवाह गर्‍यो भने के हामी तिनीहरुलाई झपार्न जान्छौं ?
समाजले के भन्छ भनेर चोखिन खोज्ने हाम्रो मनस्थिति मःम पसल छिर्दा, छिमेकीको जात नमिल्ने छोरीको कोठामा चियाउँदा र रक्सीको बोतल खल्तीमा हाल्दा भने चुपचाप हुन्छ ।
आफूलाई व्यक्तिगत फाइदा हुने काम छ भने हामी समाजसंग जुध्ने आँट गर्छौं  नत् रहामी त्यही समाजलाई देखाएर पन्छिन्छौं ।
अस्पताल जाँदा डाक्टरको जात खोज्दैनौं तर त्यही अस्पतालमा तल्लो जातको छिमेकीसंग चिया पिउन हामीलाई “समाज” ले दिँदैन । बिरामीलाई रगत लिंदा जात हेर्दैनौं तर तल्लो जातको साथीले ल्याएको फलफूलमा सुनपानी छर्कन्छौं ।
यो द्वैध चरित्र जबसम्म रहन्छ तबसम्म हाम्रो समाज कुरीतिको खाल्डोमा सडिरहन्छ ।‌
बाबुबाजे भनेका सामाजिक कुरीति र संकिर्णतामा हुर्केका मान्छे हुन् जसको सोच रातारात परिवर्तन गर्न नसकिएला तर सकिँदैन भनेर कुनैपनि काम शुरु नगर्ने हो भने हामी अहिले पनि ढुंगेयुगमै हुन्थ्यौं ।
प्रयास गरे सफलता हात लाग्न सक्छ, तर कोशिशै नगर्ने हो भने खेल नै शुरु नभई हार स्विकार गर्नु हो ।‌
मैले माथि भनेजस्तै उनिहरुसंग पनि डर छ, र यो डर हटाउन डर भित्र छिर्नु पर्छ । सभ्य समाजको सिको गरेर नयाँ कुरा सिकाउनु अपमान हैन । धर्मको‌ कुरामा पनि हिन्दू धर्मले जातभात छुट्याएको छैन भनेर सप्रमाण बहस गर्न सक्नुपर्छ ‌।‌
र यसो भनिरहँदा आफूलाई दलित भन्नेहरुको दोष नै छैन भन्न खोजेको‌ चाहिँ हैन।
हामी जे चाहन्छौ हाम्रो ‌दिमागले त्यही देख्छ, सर्पको डर हुनेले डोरीको टुक्रालाई सर्प देखेर तर्से जस्तै ।‌
अनि‌ जुन कुरा हामीलाई मनपर्ने मान्छेले भन्दा उपदेश ठान्छौं, त्यही कुरा आफूलाई मन नपर्ने मान्छेले भन्दा गाली सुन्छौं।‌
मनोवैज्ञानिक अध्ययन‌ अनुसार  हाम्रो सोचाइ हाम्रो विश्वासको वरिपरि घुम्छ ।‌
भन्नुको तात्पर्य, हामी पहिले विश्वास गर्छौं, त्यसपछि यसको वैधता खोज्छौं । आफ्नो विश्वासको प्रतिकूल हुने कुरा हामीलाई सैह्य हुँदैन र हामी सकेसम्म यसबाट टाढिन खोज्छौं ।‌
यसलाई एउटा उदाहरणबाट हेरौं है त ।
एउटा अमूक दलको कट्टर समर्थकले आफ्नो नेताले जस्तै नराम्रो काम गरेपनि त्यो ठीक देख्छ । तर त्यही व्यक्तिले त्यही काम अर्को दलको नेताले गर्‍यो भने गलत ठान्छ ।
कारण, त्यो अमूक दल उक्त मान्छेको विश्वास हो र उसलाई थाहा छ कि उसको दलको नेताले उसको विश्वासलाई चोट पुर्‍याउदैन ।
तर अर्को‌‌ दलको नेताले राम्रो काम गर्‍यो भने, त्यो‌ कामले उसको विश्वासमा खलवली ल्याउँछ, र उसको दिमागले उक्त मान्छेको खोट खोज्न थाल्छ ।
यही सिद्धान्तको आधारमा, आफूलाई दलित भनेर चिनाउनेले सबैले उसलाई हेपेको देख्छ,जताततै उत्पीडन नै   उत्पीडन देख्छ ।
तर यसको मतलब यही विश्वास नै उत्पीडनको एकमात्र कारण हो भन्न खोजेको चाहिँ होइन ।
यदि आफूलाई दलित र उत्पीडित भन्नेहरुले अर्को जातलाई गाली गर्नेको साटो हामी यो देशको सार्वभौमसत्तासम्पन्न नागरिक हौं र हामी सबै बराबर हौं भन्ने बलियो सोचाई राख्ने हो भने यो समस्या २५ प्रतिशतले हल हुन्छ ।
जस्तो,
काठमाडौँमा डेरा खोज्दा जात ढाँट्नु पर्छ भन्ने सोचाई‌ हुनेहरुलाई उदाहरणको रुपमा लिऔं । आफूलाई तल्लो जात ठान्नेले आफ्नो जात घरबेटीले थाहा पाउँछन कि भन्ने ‌डर भईरहन्छ, फलत: उसको व्यवहार घरबेटीको अगाडी शंकास्पद देखिन्छ ।
काठमाडौँमा कोठा खोज्न जाने एकै जातका दुई जनाको संवाद हेरौं ।‌
पहिलो: (दृढ आत्मविश्वास बोकेर) ” साहुजी, कोठा खाली छ?”
दोश्रो:(जात थाहा पाउँछन कि भनेर डराउँदै) साहुजी कोठा खाली छ?
यी दुईमध्ये घरबेटीले जात के हो भनेर कसलाई सोध्छ होला?
आफैं बुझौं‌ ।
यदि कुनै घरबेटीले जातलाई नै महत्व दिएर प्रश्न गरेभने  यसको कानुनी उपचार‌ छैन‌?
प्रहरीलाई रिपोर्ट गर्न कसले रोकेको छ? त्यतिमात्र होइन संजालको सदुपयोग गरेर ती घरबेटीलाई सामूहिक वहिष्कार पनि त गर्न सकिन्छ ।
आफ्नो क्षणिक सहजता सोचेर, ढाँट्यो भने आनन्दै भन्दै जात ढाँटेर बस्नेहरु नै हुन् – यो जातीय बिभाजनको कुवाबाट निक्लन नचाहनेहरु ।
आफ्नो स्वार्थका लागि जात ढाँटिन्छ भने यो गल्ती हैन, स्वार्थपना हो र यो स्वार्थपना नै जातीय विभेदलाई उर्जा दिने मुख्य साधनमध्ये एक हो ।
राजनीतिक कारण
जातीय भोटका लागि खोजी खोजी त्यही समूदायको मान्छेलाई योग्यता विनै चुनावमा उठाउन सामान्य हिच्किचाहट पनि हुँदैन नेताहरुलाई।  यो राजनीतिक स्वार्थबाट अभिप्रेरित जातीय विभाजन हो कि होइन? यो जात त्यो जात भनेर छुट्याउँदा विभेद हुन्छ कि हुँदैन ?
किन नेपालमा नेपालीपनलाई प्राथमिकता दिने नेता नजन्मिएका ? दलित होस् या मधेसी, हिमाली, पहाडी सबैभन्दा पहिले नेपाली हुनुपर्छ भन्ने आँट गर्नु त  कहाँ हो कहाँ यहाँ त उल्टै  जातीय पार्टी नै पो बन्छ ।
मधेशवादी दल भन्दा कसैले पनि औंला उठाउँदैनन् तर यदि कसैले नेपाल बाहुन दल भनेर खोल्यो भने, तिनीहरुले कस्तो आलोचना भोग्नुपर्ला ?
आफ्नो स्वार्थका लागि नेपाली जनतालाई दलित र उत्पीडितको बिल्ला भिराउने यिनै दल र‌ नेता हुन। संविधानमा समान हक र अधिकार भएका नागरिकहरुलाई आफ्नो स्वार्थकै लागि भेदभाव गर्ने नेतालाई किन कारवाही नहुने ?
अझ कोही नेता त सस्तो लोकप्रियताका लागि आफ्नो थर परिवर्तन गर्ने घोषणा गर्छन् ।
ती नेतालाई मेरो प्रश्न
– यसरी जात परिवर्तन गर्नु भनेको उक्त जात तल्लो हो भनेर स्वीकार गर्नु हो कि होइन?
– सवै नेपाली समान भए, किन एउटा जातिलाई अंगालो हाल्ने ?  नत्र सबै जाती समान होइनन भनेर किन नभन्ने ?
जनवादी नेताले समान जनाधिकारको कुरा गर्ने कि केटाकेटीले जस्तो थर परिवर्तन गर्ने? 
भोलि महिला हिंसाको खबर आउला , महिलाको नाम राख्ने अनि समस्या समाधान भयो भनेर ढुक्क  हुने ?
नाम राखेर समस्याको समाधान हुने भए जनताको नाम नि कोरोनाजीत ,धनबहादुर, चीनपति, भारतासुर राखे हुन्न ?
यसरी जातिय विभेदलाई आफ्नो राजनीतिक गोटी बनाउने नेताहरु यसमा २५ प्रतिशत दोषी छन् किनभने यिनीहरुका लागि राष्ट्रहित भन्दा आफ्नो राजनीतिक दुनो महत्वपूर्ण‌ छ ।‌
यसको अर्को प्रमाण हो आरक्षण ।
सर्सर्ती हेर्दा यो आरक्षण उपयोगी देखिन्छ । तर “दलितको लागि” भनेर किटेरै छुट्ट्याइएको यो आरक्षण आफैंमा अपमान हो कि हैन ?
एउटा उदाहरण
मानौं कि कुनै एउटा टोलमा एउटा धारो छ, जसलाई ठूलाजातिले दलितलाई‌ सजिलै  प्रयोग गर्न दिँदैनन् ।
यसको समाधानको लागि दुईटा बिकल्प ‌ल्याइन्छ,
१.सबै गाउँले एकै हुन् भनेर दलितलाई पनि त्यो धारा निर्वाध रुपमा प्रयोग गर्न लगाउने,‌नमान्नेलाई कारबाही गर्ने ।
२.दलितका लागिमात्र भनेर छुट्टै धारो बनाईदिने
सामाजिक हिसावमा पहिलो उपाय क्षणिक रुपमा आलोचित  होला,‌तर पछि समाजले बिस्तारै दलित भन्ने शव्द बिर्सदै जान्छ ।
तर नेताहरुलाई दलितको भोट लिन सजिलो छ भन्ने कुरा थाहा छ । पाँच वर्षमा एकपल्ट एउटा दलितको घरमा खाना खायो, अधिकारका लागि लड्छौ भन्यो, भोट आइहाल्छ।‌
दलित‌ र विभेद हट्यो भने भोट कसरी तान्ने ?
नेतामात्र हैन दलित दुर्व्यवहार हट्यो भने धर्म परिवर्तन गर्ने जमात र विदेशी दाताको डलर हसुर्नेलाई पनि घाटा लाग्छ ।
यी सबैको  सजिलो समाधान हो दोश्रो उपाय।‌
यसले दलित र छुवाछुत हटाउँदैन,उल्टै मलजल गर्छ । नेतालाई भोट काटिने डर पनि हुँदैन, धर्म परिवर्तन गराउने र जनजातिको नाममा डलर कमाउनेको आम्दानी पनि घट्दैन ।
धर्म परिवर्तनको कुरा गर्दा, हिन्दू धर्मको मुख्य ग्रन्थ वेदहरुमा कतैपनि छुवाछुत र जातीय विभाजनको चर्चा छैन र पनि धर्मको नाम लिएर आधारहीन तर्क गर्ने लालबुझक्कडहरुको जमात हामीकहाँ ठुलै छ। धार्मिक ग्रन्थको आफूपायक अनुवाद गरेर,आफू चोखो भएजस्तो गरेर धर्मलाई दोष दिने धर्मभीरुहरु यो विभेदलाई कायम राख्न चाहन्छन् ‌।‌
अधिकांश हिन्दूले स्वस्थानी, महाभारत र रामायण बाहेक अन्य धर्मग्रन्थहरू पढेकै छैनन् र पढ्नेहरु मध्ये अधिकांशले‌ ज्ञान हैन धर्म आर्जन गर्न मात्र पढेका हुन्छन् भन्दा अतिशयोक्ति नहोला ।
नत्र विश्वकर्मा थर भएकासंग संग हेलमेल गर्न चाहिँ  नसक्नेले तिहारम विश्वकर्मा पूजा‌ चाहिँ किन गर्ने ?
महाभारतमा युधिष्ठिरलाई नायक मान्ने अनि तिनै नायकले  –  “ब्राम्हण भनेको जन्मजात अधिकार हैन, ब्राम्हण  कर्मले हुन्छ” भन्दा किन चुपचाप बस्ने ?
मैले माथि भनेजस्तै ज्ञान लिन हैन धर्म कमाउन पढ्नेहरुले नै जानीनजानी अपव्याख्या गरेर जातीयतालाई समाजकै अंगको रुपमा हुर्काउँदै आएका छन् ।‌
एउटा अर्को ‌कुरा उल्लेख गर्न मनलाग्यो ।
संसारका मुख्य धर्महरुमा हिन्दू धर्म एकमात्र त्यस्तो धर्म हो जसले खुशीसाथ अरु धर्मको अस्तित्व स्विकार गर्छ । म नास्तिकको बिचारमा  जु बाटो हिडेपनि गन्तव्य एकै हो भन्ने मान्यता राख्ने धर्म हिन्दू धर्म छाडेर अन्य धर्ममा परिवर्तन हुनु भनेको  नीलो रंगको दमकलले मात्रै मेरो घरको आगो निभाउन पाउँछ भनेजस्तै हो । यो विषयमा कुनै दिन कुरा गरौंला ।‌
धर्मको गलत बुझाइ बाट जन्मेको कुसंस्कारको समाधान गर्ने कुनै फूमन्तर त अवश्य छैन तर शुरुवात चाहिँ  कतैबाट गर्नैपर्छ ‌।‌
प्राथमिक विद्यालय देखिकै पाठ्यक्रममा संसारका मुख्य धर्मवारे आधारभूत ज्ञान दिने धार्मिक शिक्षा राख्ने हो भने विस्तारै यो बिभाजन कम हुँदै जान्छ। संभवतः अर्को २५ प्रतिशत ।‌
अनि अर्को कुरा छ जसले यो घटनालाई जातीय रंग दिएर अर्को जातिमाथि प्रहार गरेका छन् – यिनीहरू यो विभेदको अर्को माली हुन ।‌
एउटा जातले भोगेको पीडाको मल्हम अर्को जातप्रति गरिने दुर्व्यवहार पक्कै होइन। बुझ्नुपर्ने कुरा के भने अंध्यारोमा आफ्नो कालो चश्मा फुकाले पो टर्चलाइटलाई दोष दिन मिल्छ त ।
जातको चश्मा लगाएर हिंड्नेले सबैतिरको समस्याको जड जात नै देख्छ । यसको एउटा प्रष्ट उदाहरण हो यो कालजयी गीत
फूलको आँखामा फूलै संसार ।‌ (नयाँ पेज खुल्छ)
 अन्त्यमा
यसरी आरक्षणको नाममा जातीय बिभाजनको जरोलाई बिस्तार गरिरहँदा नेतादेखि गैरसरकारी संस्था समेतलाई मनग्गे फाइदा भइरहेको छ, दलितलाई बाहेक ।
विडम्वना के छ भने
यदि आफूलाई दलित भनेर चिनाउनेले
“हामी सबै समान हौं, आरक्षण दिएर हाम्रो अपमान नगर” भन्नुको साटो जयजयकार गर्दै आरक्षण लिइरहेका छन् ।‌
यदि हामी सबै एक हौ भनेर आरक्षण बहिष्कार गर्ने
आँट गर्ने हो भने यो विभेदमा अर्को २५ प्रतिशत कमी आउँछ ।‌
तर यो बिरालोको घाँटीमा घण्टी कसले झुण्ड्याउने त ?
नेतालाई- भोट घट्ने डर
समाजलाई -‌ “विश्वास” माथि प्रहार हुने डर 
गैरसरकारी संस्थालाई: डलर गुम्ने डर
अनि दलित आफैलाई- आरक्षण गुम्ने डर
क्षणिक स्वार्थ हेरेर यहाँ यस्तै हो भनेर आँखा चिम्लेर बस्नेहरुले  भविष्यमा हुने कुनैपनि यस्ता घटनाको नैतिक जिम्मेवारी पनि लिन सक्नुपर्छ।‌
समस्या दलित जातको‌ होइन दलित सोचको हो ।नत्र जनावरलाई अँगालो मार्ने हात मान्छेको हातसंग किन
हिच्किचाउँछन ? 
धर्मको‌ आड लिनेले यो वेदको वा यो पुराणको यो खण्डमा यसरी भनेको छ भनेर देखाउन किन सक्दैनन् ?
त्यही दलितको पैसा, उसले बनाएको कपडा, जुत्ता चल्ने, त्यही दलितले बनाएको भाँडामा पकाएर खान हुने, त्यही दलितको हातले बनाएको मुर्ति ‌ढोग्न हुने अनि त्यही दलितलाई मान्छेको ब्यबहार गर्न नसक्ने?
अनि दलितहरु पनि यो आरक्षण र कोटामै मख्ख भएर जदौ गरिरहने कि आफूलाई “हामी बराबर हौ” भनेर बराबरीको हक र‌ अधिकारका लागि लड्ने ?  
आरक्षण ठुलो कि आत्मसम्मान?

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Author: Sunil Karki

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *